Techie IT
२०८२ फागुन २६, मंगलबार

राधानदीमा राडार लेभल सेन्सर जडान, बाढी पूर्वसूचना प्रणाली सुदृढ


कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ।

बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नदीको जलस्तर मापन गर्न आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो। इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर), डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले जानकारी दिए।

उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ।

नदीमा जडान गरिएको राडार लेभल सेन्सरले नदीको जलस्तरसम्बन्धी वास्तविक समय (रियल टाइम) का तथ्याङ्क सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले बताए। यस प्रविधिबाट बर्खायाममा सम्भावित बाढीको पूर्वसूचना समयमै प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सेन्सर जडानपछि बेदकोट नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई बाढीको जोखिमबारे समयमै सचेत गराउन सहयोग पुग्ने जनाइएको छ।

‘हाल प्रविधि जडानको काम सम्पन्न भएको छ,’ संयोजक सुनारले भने, ‘यसलाई जल तथा मौसम विज्ञान विभागको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनुअगावै पूरा गरिनेछ। त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटमार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।’

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । उक्त प्रविधिले बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट