काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्यो
नेपालमा पछिल्लो समय तापक्रम निरन्तर घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ, जुन यो वर्षकै सबैभन्दा कम रेकर्ड हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पुस सुरु भएसँगै देशभर तापक्रम क्रमशः घटिरहेको छ । मौसमविद् विनु महर्जनका अनुसार यो समय तापक्रम घट्नु स्वाभाविक भएकाले चिसोबाट जोगिन विशेष सावधानी अपनाउन आवश्यक छ ।
यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा ४.८, पुस १७ मा ४.६ र पुस १९ मा ४.५ डिग्रीमा झरेको तापक्रम पुस २३ र २४ गते ३ डिग्रीमा पुगेको थियो । आज भने यो अझै घटेर २.४ डिग्रीमा झरेको हो ।
काठमाडौं मात्र नभई देशका विभिन्न जिल्लामा पनि चिसो बढ्दो क्रममा छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लामा बिहीबार माइनस ८.१ डिग्रीसम्म तापक्रम झरेको थियो ।
यस्तै, जोमसोममा माइनस ५, दोलखाको जिरीमा माइनस २.१, डडेलधुरामा १.५, दिपायलमा १.४, वीरेन्द्रनगरमा २.५, ताप्लेजुङमा ३.९ र लुम्लेमामा ३.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रेकर्ड गरिएको छ ।
मौसम विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ ।
आज साँझ जारी बुलेटिनअनुसार कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहने जनाइएको छ ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । बाँकी तराईका केही स्थानमा पनि हुस्सु देखिन सक्ने मौसम विभागले जनाएको छ ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । साथै, मौसम पूर्वानुमान महाशाखाबाट दैनिक रूपमा जारी हुने अद्यावधिक सूचनाको जानकारी लिन पनि आग्रह गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस