२० माघमा फेरि हिउँपर्ने सम्भावना
यही माघ २० गते फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना छ ।
उनका अनुसार लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा पनि हल्का हिउँ र पानी पर्न सक्नेछ । त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।
सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली तथा उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावित क्षेत्रलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रङमार्फत संकेत गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
माघ महिनामा नेपालमा हिउँ र पानी पार्ने प्रणाली प्रवेश गरेको यो तेस्रो पटक हो । यसअघि ९–१० माघ तथा १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात भएको थियो । ९–१० माघको तुलनामा १३–१४ माघको प्रणाली केही शक्तिशाली थियो । तर २० माघदेखि सक्रिय हुने पछिल्लो प्रणाली भने अघिल्लो पटकको भन्दा कमजोर हुने अनुमान गरिएको छ ।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार यो प्रणाली अघिल्लो पटकको तुलनामा कमजोर छ, त्यसैले धेरै हिउँ र पानी पर्ने सम्भावना देखिँदैन । उनका अनुसार २१ माघ बुधबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने अपेक्षा गरिएको छ ।
हिउँदयाम अझै सुक्खा
पछिल्ला केही वर्षयता नेपालमा हिउँदयाम अपेक्षाकृत सुक्खा हुँदै गएका छन् । १६ मंसिरदेखि १५ फागुनसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । सामान्य अवस्थामा यस अवधिमा औसत ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ ।
तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म देशभर औसत केवल ६.०२ प्रतिशत अर्थात ३.६ मिलिमिटर मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस