Techie IT
२०८२ चैत्र १२, बिहीबार

नेपालमा शक्तिशाली हावाहुरी भित्रिदै, कति छ जोखिम?


नेपालमा यो साताको अन्त्यतिर पश्चिमी वायु पुनः सक्रिय हुने संकेत देखिएको छ। यसको प्रभावले देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले पूर्वदेखि पश्चिमसम्म वर्षाको सम्भावना देखाएका छन्। यद्यपि, पूर्वी नेपालमा प्रभाव बढी र पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम पर्ने अनुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद बरुण पौडेल ले काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताए। अर्की मौसमविद बिनु महर्जनका अनुसार बिहीबारदेखि नै यसको संकेत देखिन थाल्नेछ।

प्रिमनसुनको समय भएकाले यतिबेला हावाहुरी र चट्याङका घटना बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्।

पोखरेलका अनुसार नयाँ प्रणालीको प्रभावले पश्चिम तराईमा वर्षा कम भए पनि अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। जलवायु अध्येता धर्मराज उप्रेतीले काठमाडौं उपत्यकामा साँझतिर हुरी चल्न सक्ने सम्भावना औंल्याएका छन्, तर तराईको तुलनामा ठूलो हुरीको जोखिम कम रहने बताएका छन्।

उनका अनुसार भारतको बिहार र उत्तर प्रदेश तर्फबाट विकसित प्रणाली नेपाल प्रवेश गर्ने भएकाले लुम्बिनी–चितवन क्षेत्रमा प्रभाव अलि बढी पर्न सक्ने अनुमान छ।

उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने यस प्रणालीका कारण तापक्रममा गिरावट आई चिसो महसुस हुन सक्छ।

यसअघि चैत ६ र ७ गते आएको प्रणालीभन्दा यो प्रणाली कम शक्तिशाली हुने आकलन गरिएको छ। तर पनि शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म यसको प्रभाव देखिने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।

भारततर्फ भने यस प्रणालीको प्रभाव बढी पर्ने अनुमान गरिएको छ। भारतको मौसम विभागले जम्मु–कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड लगायतका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशका केही भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको छ।

यस समग्र प्रणालीको प्रभावले नेपालको मौसममा पनि परिवर्तन ल्याउँदै तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट