तराइमा ह्वात्तै बढ्यो गर्मी, पश्चिममा ‘हीटवेभ’को चेतावनी
नेपालका विभिन्न स्थानमा वर्षा भइरहे पनि तराई क्षेत्रमा भने तापक्रम ह्वात्तै बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा अझै गर्मी बढ्ने चेतावनी दिएको छ।
विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा उपत्यका–खोँचहरूमा अत्याधिक गर्मी दिन रहनेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पश्चिमी तराई क्षेत्रमा तातो लहर (हीटवेभ) चल्ने सम्भावना रहेको उनले बताएका छन्।
आइतबार साँझसम्मको विवरणअनुसार नेपालगन्जमा सबैभन्दा उच्च ४०.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन अघिल्लो दिनको ३९ डिग्रीभन्दा बढी हो। दिपायलमा ४० डिग्री तापक्रम पुगेको छ भने धनगढीमा ३९.४ डिग्री र काठमाडौंमा २९ डिग्री सेल्सियस मापन गरिएको छ।
उता उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने वर्षा भइरहेको छ। कास्कीमा ५७.४ मिमि र सिन्धुपाल्चोकमा ६८.४ मिमि वर्षा भएको छ। गोरखा, लमजुङ, सोलुखुम्बु, खोटाङ, धनकुटा र सङ्खुवासभामा मध्यम वर्षा हुँदा अन्य धेरै स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।
हाल देशमा पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय रहेको छ। सोमबार कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र तराईमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै देशका अन्य क्षेत्रका केही स्थानमा पनि यस्तो गतिविधि देखिन सक्ने बताइएको छ।
विभागले तातो बढ्दो अवस्थालाई ध्यानमा राख्दै नियमित रूपमा अद्यावधिक मौसम जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस