देशभर चट्याङसहित वर्षा, हिमपात र हावाहुरीको चेतावनी
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बाक्लो बदली भएको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै तराईका केही क्षेत्रमा हावाहुरी चल्ने जोखिम पनि औंल्याइएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको जोखिम रहेको छ। मौसमविद्हरूले सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस