जुन–अगस्टमा अत्यधिक गर्मी हुने, खडेरी र बाढीको दोहोरो जोखिम
संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’का कारण आगामी जुनदेखि अगस्टसम्म विश्वका विभिन्न क्षेत्रमा अत्यधिक गर्मीको लहर (हिटवेभ) देखिन सक्ने चेतावनी दिएको छ।
मध्य तथा पूर्वी प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विकसित हुने अल निनो अवस्था नोभेम्बरसम्म कायम रहने सम्भावना रहेको डब्लूएमओले जनाएको छ। सामान्यतया अल निनोको प्रभाव नौदेखि १२ महिनासम्म रहने गर्छ।
यद्यपि विभिन्न मौसमीय मोडेलहरूले यसको तीव्रताबारे फरक–फरक अनुमान प्रस्तुत गरेकाले यसपटक अल निनो कति शक्तिशाली हुनेछ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। तर, डब्लूएमओले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।
डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले तीव्र अल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा खडेरी, अत्यधिक वर्षा र लूको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने बताएकी छन्।
उनका अनुसार यस मौसमीय घटनाले क्षेत्रीय जलवायु प्रणालीलाई प्रभावित गर्नुका साथै विश्वव्यापी तापक्रम वृद्धिलाई थप तीव्र बनाउन सक्छ। दक्षिण अमेरिका, अमेरिकाको दक्षिणी क्षेत्र, अफ्रिकाको हर्न क्षेत्र तथा मध्य एसियाका केही भागमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।
यता अस्ट्रेलिया, मध्य अमेरिका, इन्डोनेसिया तथा दक्षिण एसियाका केही क्षेत्रमा भने खडेरीको जोखिम बढ्ने डब्लूएमओको प्रक्षेपण छ। साथै, मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि समेत तीव्र हुन सक्ने जनाइएको छ।
महासचिव साउलोका अनुसार अत्यधिक गर्मीका कारण लामखुट्टेमार्फत फैलिने रोगहरूको प्रकोप बढ्न सक्ने, खाद्य तथा खानेपानी आपूर्तिमा समस्या आउन सक्ने र कमजोर समुदायहरू थप जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।
उनले जलवायुजन्य विपद्का कारण कृषि उत्पादनमा दबाब बढ्ने र त्यसले खाद्य सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिएकी छन्।
यसैबीच, इरान–इजरायल द्वन्द्वबाट उत्पन्न भू–राजनीतिक तनाव र अल निनोको सम्भावित असरले विश्व बजारमा खाद्य वस्तुको मूल्य अझ महँगिन सक्ने आकलन समेत गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस