कोशी, बागमती र गण्डकीमा चट्याङ्सहित वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण अहिले देशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली (बादल) रहेको छ भने मधेस प्रदेशमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पहाडी तथा हिमाली क्षेत्रको कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तराई क्षेत्रको कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुन सक्छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम सफा रहने भएकाले अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना छ।
आज राति देशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको हिमाली, पहाडी तथा तराईका थोरै स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस