Techie IT
२०८३ भाद्र २६, शुक्रबार

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी


काठमाडौं । नेपालमा मनसुन सक्रिय बन्दै जाँदा कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। उता तराईका केही जिल्लामा तातो लहर (हिटवेभ) को जोखिम पनि कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।

हाल कोशी प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षासमेत भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो दिन’को अवस्था रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको क्रम जारी रहनेछ। मौसम महाशाखाले विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने जोखिम औँल्याउँदै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट