Techie IT
२०८३ असार ११, बिहीबार

आज यी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं । देशका विभिन्न भूभागमा आज मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) चल्ने पूर्वानुमान गरिएको छ। मनसुनी वायु अझै देशभर पूर्ण रूपमा फैलिन नसकेकाले वर्षासँगै केही स्थानमा अत्यधिक गर्मी कायम रहने देखिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

विभागले हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। त्यस्तै, कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर चल्ने विभागले चेतावनी दिएको छ। वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि अत्यधिक गर्मीका कारण ‘तातो दिन’ रहने सम्भावना रहेको छ।

रातिको मौसम पनि अधिकांश क्षेत्रमा यस्तै रहने विभागको अनुमान छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल कोशी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट