देशभर मनसुन सक्रिय: सुदूरपश्चिमसहित यी चार प्रदेशमा भारी वर्षाको चेतावनी
हाल देशभर मनसुनी वायुको पूर्ण प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले अहिले मधेस प्रदेशमा आंशिक र बाँकी सबै प्रदेशहरूमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। हाल बागमती र लुम्बिनीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, तराई क्षेत्रअन्तर्गत लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ भने कोशी, मधेस र बागमतीमा साधारणतया बदली हुनेछ। हिमाली भू-भागका केही स्थान तथा कोशी, मधेस र बागमतीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो पहाडी तथा तराई भू-भागमा चट्याङसहित मध्यम वर्षा हुनेछ। साथै, यी चार प्रदेशका (गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस