देशभरका कुनकुन राजमार्ग अवरुद्ध छन् ?
अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाहरूमा यातायात सेवा प्रभावित भएको छ भने केही प्रमुख सडकहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
विभिन्न प्रदेशका सडकहरूको अवस्था
कोशी प्रदेश: इलामस्थित मेची राजमार्गअन्तर्गत राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस खण्डका लागि वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेश: काभ्रेको बीपी राजमार्ग (खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी) र मकवानपुरको कान्तिलोकपथमा जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेशी सडक, नुवाकोटको पासाङ ल्हामु मार्ग तथा टोखा-छहरे सडक, सिन्धुपाल्चोकको अरनिको राजमार्ग (कोदारी) र धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभिर तथा परेवाभिरमा पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ।
कर्णाली प्रदेश: मुगुको छायाँनाथ रारा नगरपालिकास्थित झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खस्दा नाग्म–गमगढी सडक खण्ड अवरुद्ध बनेको छ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र विशेष सजगता अपनाउन प्रहरीले यात्रुहरूलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस