अफगानिस्तान–पाकिस्तानमा वर्षा र आँधीको कहर : दुई सातामै १२१ जनाको मृत्यु
अफगानिस्तान र पाकिस्तान मा पछिल्ला दुई सातायता परेको भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले बताएका छन्।
मार्च अन्त्यदेखि अफगानिस्तानमा आएको आँधीबेहरीसहितको वर्षाले बाढी, पहिरो र व्यापक भौतिक क्षति निम्त्याएको छ। अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार मार्च २६ यता देशभर बाढी र वर्षासम्बन्धी घटनामा ७७ जनाको मृत्यु भएको छ भने १३७ जना घाइते भएका छन्।
उनका अनुसार पछिल्ला ४८ घण्टामै बाढी, पहिरो र चट्याङका कारण २६ जनाले ज्यान गुमाएका छन् भने ४८ जना घाइते भएका छन्। दक्षिणपूर्वी गजनी प्रान्तमा शनिबार बिहान आएको बाढीमा डुबेर एक बालकको मृत्यु भएको छ। सोही क्षेत्रमा डुबेर थप दुई बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।
दक्षिणी कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको विपद् व्यवस्थापन निकायले जनाएको छ।
यस्तै, पाकिस्तानमा पनि भारी वर्षाका कारण पछिल्ला हप्तामा ४४ जनाको मृत्यु भएको छ। प्रान्तीय विपद् व्यवस्थापन निकायका अनुसार उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा मार्च २५ यता कम्तीमा ३२ जना र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ।
लगातारको वर्षा र प्राकृतिक विपद्का कारण दुवै देशमा जनधनको ठूलो क्षति भएको छ भने उद्धार र राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस