सप्तकोसी नदीले उदयपुर खण्डमा कटान सुरु, बस्ती जोखिममा
उदयपुर र सुनसरीको सिमानामा बग्ने सप्तकोसी नदीले लगातारको वर्षापछि उदयपुरको बेलका नगरपालिका–८ सोमबारे क्षेत्रबाट कटान सुरु गरेको छ। तीन दिनदेखि परेको अविरल वर्षापछि नदीको बहाव तीव्र बन्दै जाँदा शिशौलीघाटको करिब २५ मिटर बाँध कटान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीले जानकारी दिए। कटानले करिब २० घर जोखिममा परेको र नदीको पानी बस्तीमा पस्ने खतरा बढ्दै गएको उनले बताए।
एसपी योगीका अनुसार, सम्भावित विपदलाई मध्यनजर गर्दै सुरक्षित स्थानान्तरणका लागि स्थानीय तह र विपद् व्यवस्थापन समितिसँग समन्वय भइरहेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक मौसम उदासको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट कोठुबाट ३ जना प्रहरी तत्कालै परिचालन गरिएको छ।
सप्तकोसी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीका टोलीलाई उच्च तयारी अवस्थामा राखेको छ। एसपी योगीले जिल्लामा ५५ जना सुरक्षाकर्मी उद्धार सामग्रीसहित तैनाथ रहेको जानकारी दिए।
स्थानीय प्रशासनले आगामी केही दिन अझै पानी पर्ने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस