देवघाटधाम बाढीको चपेटामा: धार्मिक र शैक्षिक संरचना जोखिममा
बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँ जिल्लाको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल देवघाटधाम बाढीको उच्च जोखिममा परेको छ। त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीले देवघाट क्षेत्रमा रहेका धार्मिक, शैक्षिक, र भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ।
देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय बाढीको चपेटामा परेर पूर्णरूपमा डुबानमा परेको छ। विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले बाढीले विद्यालयका भवन र सबै कागजात नष्ट भएको जानकारी दिएका छन्। विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।
त्रिशूली नदीमा आएको बाढीका कारण चितवन र देवघाटलाई जोड्ने दासढुङ्गा पुल पनि ठूलो जोखिममा परेको छ। शनिबार नदीमा पानीको सतह अत्यधिक बढेपछि बाढीले पुल नाघेर बगाएको थियो, जसका कारण केही समय पुलमा आवतजावत बन्द गर्नुपरेको थियो।
त्यस्तै, १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल पनि जोखिमपूर्ण स्थितिमा छ। देवघाट क्षेत्रमा रहेको गलेश्वर आश्रम को केही भाग त्रिशूली नदीको बाढीले बगाएको छ, जसले आश्रमको धार्मिक संरचना जोखिममा परेको छ।
देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरका अनुसार बाढीले वेणी सङ्ग क्षेत्रमा रहेका मठमन्दिर, कुटी, र चितवनतर्फ रहेका धर्मशालाहरू डुबानमा परेका छन्। बाढीका कारण धार्मिक तथा सांस्कृतिक महत्त्वका क्षेत्रहरूको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस