Techie IT
२०८३ श्रावण ५, मंगलबार

सिंहदरबारमा शक्ति संघर्ष चुलियो, "छायाँ अर्थ मन्त्रालय" चलाउँदै प्रधानमन्त्री बालेन


प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध दिनप्रतिदिन पेचिलो बन्दै गएको छ। अर्थ मन्त्रालयसँग समन्वय नगरी प्रधानमन्त्री कार्यालयबाटै आर्थिक क्षेत्रका सरोकारवालाहरूसँग श्रृंखलाबद्ध छलफल अघि बढाइए पछि प्रधानमन्त्री शाहले 'छायाँ अर्थ मन्त्रालय' चलाउन खोजेको चर्चा राजनीतिक र प्रशासनिक वृत्तमा सुरु भएको छ।

आज सोमबार मध्यान्ह १२ बजे प्रधानमन्त्री शाहले पुँजीबजार, धितोपत्र र बीमा क्षेत्रका उच्च पदाधिकारीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर विशेष छलफल गरेका छन्। उक्त बैठकमा अर्थ मन्त्रालय मातहतका नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालसहित स्टक ब्रोकर, बीमा कम्पनी तथा स्टक डिलरका प्रमुखहरूको सहभागिता रहेको थियो। 

छलफलमा पुँजी बजारको वर्तमान अवस्था, नीतिगत सुधार र समग्र अर्थतन्त्रका विषयमा कुराकानी भए पनि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित यी विषयको बैठकमा अर्थमन्त्री डा. वाग्लेलाई भने सहभागी गराइएको थिएन।

यता, प्रधानमन्त्रीको कदमको समानान्तर रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि सोही समयमा अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयनसम्बन्धी उच्चस्तरीय बैठक राखेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गराउन आयोजना गरिएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्यायका साथै पूर्वाधार, उद्योग, कृषि, स्वास्थ्य, शिक्षालगायत एक दर्जन मन्त्रालयका सचिवहरूको सहभागिता थियो। तर, उक्त बैठकमा प्रधानमन्त्री कार्यालयको तर्फबाट भने कुनै सहभागिता थिएन।

प्रधानमन्त्री शाहले केही दिनयता औद्योगिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलसँग पनि अर्थमन्त्रीलाई बाहिरै राखेर छुट्टाछुट्टै छलफल गरिसकेका छन्।

सरकार गठनदेखि नै चिसो रहेको प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध सुधारका लागि शनिबार र आइतबार काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. वाग्लेबीच लामो आवासीय छलफल भएको थियो। यद्यपि, उक्त गोप्य वार्तापछि पनि सोमबार दुवै नेताले आयोजना गरेका भिन्दाभिन्दै बैठकले समस्या समाधान हुनुको साटो तिक्तता अझ उत्कर्षमा पुगेको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट