Techie IT
२०८३ श्रावण २८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकले कमायो साढे ४ अर्बभन्दा बढी खुद नाफा


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्ज (सम्भावित नोक्सानीका लागि छुट्याइएको रकम) घटेका कारण बैंकको खुद नाफामा उच्च सुधार आएको हो। सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशत र सञ्चालन मुनाफा ६४.२६ प्रतिशतले बढेको छ। गत वर्ष २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर यसपटक ८४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि मजबुत भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँले बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ।

१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप सङ्कलन ३७.११ प्रतिशत र कर्जा लगानी १३.६० प्रतिशतले बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट