Techie IT
२०८२ मंसिर ४, बिहीबार

सिमरामा झडपपछि विद्यालय बन्द


नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपपछि सिमरा तथा आसपासका सामुदायिक र निजी विद्यालयहरू बिहीबार दिनभर बन्द रहेका छन्। शान्ति–सुरक्षाको अवस्था कमजोर भएको भन्दै विद्यालयहरूले पठनपाठन रोक्का गरेका हुन्।

सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालका अनुसार बुधबार सिमरा विमानस्थल क्षेत्रमा भएको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले विद्यालयका विद्यार्थी प्रभावित भएका थिए। “विचार नै नगरी प्रहार गरिएको अश्रुग्याँसको असरले विद्यार्थीहरू निकै गाह्रोमा परे, केही त बेहोससम्म भए,” ढकालले भने।

विद्यार्थीहरू त्रासमा रहेको भन्दै विद्यालयलाई बिहीबार बन्द गरिएको उनले जानकारी दिए। बुधबार बिहान शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन विस्तारै उग्र बन्दै झडपमा परिवर्तन भएपछि पठनपाठन गरिरहेका विद्यार्थीहरू सर्वाधिक त्रासमा परेको विद्यालयहरूले जनाएका छन्।

स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि विद्यालयले आकस्मिक रूपमा कक्षाहरू बन्द गरी विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाउन हम्मे–हम्मे परेको थियो।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले परिस्थिती सामान्य नभएसम्म विद्यालय क्षेत्र बन्द नै रहने बताए। “आन्दोलन भइरहँदा विद्यार्थी ल्याएर पढाउन सकिँदैन। केही अप्रिय घटना भयो भने जिम्मेवार को हुन्छ ?” अधिकारीले प्रश्न गरे।

यता, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा धक्का–मुक्का गरेको आरोपमा एमालेका दुई कार्यकर्ता नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा परेका व्यक्तिहरू एमालेबाट निर्वाचित वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट