बहिनीलाई क्रुरतापूर्वक जिउँदै आगोमा जलाएर मारिएको देख्दा मन मर्माहत भएको छ - नाडा नेपालका पूर्वअध्यक्ष थापा

जेनजीको आन्दोलनमा पोखरामा घरमा आगजनी गरेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले गहिरो दुःख प्रकट गरेका छन्।
सामाजिक सञ्जालमार्फत पीडा व्यक्त गर्दै उनले ३५ वर्षको मेहनतले बनेको आफ्नो घर क्षणभरमै खरानी बनाइँदा अत्यन्त पीडादायी भएको उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, “१७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम सुरु गरेको थिएँ। आरोह–अवरोह र जोखिम मोल्दै व्यवसायलाई अघि बढाएको थिएँ। नेपालमै सम्भावना धेरै छ भन्दै अरूलाई उद्यम गर्न अभिप्रेरित गर्दै आएको थिएँ। तर आज आफ्नो घर र अफिस जलाइँदा मन समेत जल्दो रहेछ।”
उनले पुर्खाले आर्जेको जग्गामा पसिना बगाएर बनाएको घर क्षणभरमै नष्ट भएको दुःख व्यक्त गरेका छन्। व्यवसायबाट कमाएको रकम समाजसेवामा समेत खर्च गरेको उनले स्मरण गरेका छन्।
थापाले लेखेका छन्, “२०७२ सालको भूकम्प र कोभिड महामारीका बेला सयौँ एम्बुलेन्स आयात गरी विभिन्न संघ–संस्थालाई निःशुल्क उपलब्ध गराएका थियौँ। ती एम्बुलेन्सले धेरै ठाउँमा सेवा पुर्याइरहेका छन्। तर आज जलेको घरको आगोसँगै मेरो उत्साह पनि खरानी भएको छ। खण्डहर भएको घर हेर्दा नेपालमै व्यवसाय गर्नु गल्ती पो भएछ कि भन्ने लागिरहेको छ।”
घरमा आगो लगाउँदा त्यहाँ काम गर्ने एक महिला कर्मचारीको ज्यान गएकोप्रति थापाले गहिरो दुःख प्रकट गरेका छन् । “परिवारकै सदस्य जस्तै भएकी ती बहिनीलाई क्रुरतापूर्वक जिउँदै आगोमा जलाएर मारिएको देख्दा मन मर्माहत भएको छ,” उनले भनेका छन्।
घरमा मानिसहरू रहँदै गर्दा आगो लगाउने अपराधीलाई उम्कन नदिन थापाले आग्रह गरेका छन् । साथै, दाइ बिन्दु थापासँग राजनीतिक जोड देखाएर आफूलाई लक्षित गरिएको दाबी गरेका छन्।
“व्यवसायमा सफल भएपछि दाइ समाजसेवाका उद्देश्यले राजनीतिमा लाग्नुभयो। तर उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै अघि पोखराका सफल व्यवसायी हुनुहुन्थ्यो। समाजकै सेवा गर्ने उद्देश्यलाई गलत बुझिनु दुःखद छ,” थापाले भनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस