Techie IT
२०८२ पौष १४, सोमबार

मुस्ताङका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण


मुस्ताङ जिल्लाका पाँचवटै स्थानीय तहमा चार हजारभन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ। नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र, जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो।

सन् २००९ देखि जिल्लामा आँखासम्बन्धी सेवा प्रवाह गर्दै आएको सामुदायिक आँखा केन्द्रको वार्षिक कार्यप्रगति तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठक सोमबार जोमसोमस्थित प्रादेशिक अस्पतालमा सम्पन्न भएको थियो। उक्त अवसरमा केन्द्र प्रमुख तथा नेत्र अधिकृत रमिला नेपालीले केन्द्रको समग्र कार्यप्रगतिबारे जानकारी दिएकी हुन्।

उनका अनुसार स्थापनाकालदेखि हालसम्मको १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ भने ५३५ जनाको मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ।

नेत्र अधिकृत नेपालीले केन्द्रले स्थानीय नागरिकलाई चौबिसै घण्टा आपतकालीन (इमरजेन्सी) सेवा प्रदान गर्दै आएको बताउँदै बाह्य रोगी सेवा (ओपिडी) अन्तर्गत दृष्टि परीक्षण, आँखा जाँच, चस्मा परीक्षण, सुपथ मूल्यमा चस्मा निर्माण तथा औषधि सेवासमेत उपलब्ध गराउँदै आएको जानकारी दिइन्। साथै, प्रत्येक वर्ष नेत्र रोग विशेषज्ञ चिकित्सकको सहयोगमा जिल्लाका पाँचवटै स्थानीय तहमा आलोपालो रूपमा आँखाको शल्यक्रिया शिविर सञ्चालन हुँदै आएको उनले बताइन्।

हाल केन्द्रमा एक जना नेत्र अधिकृत र एक जना अप्टिकल फिटरलगायत कर्मचारी कार्यरत रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट