टाउकोको जटिल शल्यक्रिया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक सफल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा टाउकोको नशासम्बन्धी जटिल शल्यक्रिया (न्युरो सर्जरी) सफलतापूर्वक सम्पन्न गरिएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन डा. निलमकुमार खड्काको नेतृत्वमा गरिएको शल्यक्रियाबाट पातारासी गाउँपालिका–३, छुमगाउँ निवासी गोरबहादुर बोहराको जीवन जोगिएको हो।
वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर गम्भीर टाउको चोट लागेपछि उनलाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो। विशेषज्ञ चिकित्सकको अभावका कारण अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको अवस्थामा डा. खड्का जुम्लामै रहेको जानकारी पाएपछि बिरामीका आफन्तले शल्यक्रियाका लागि आग्रह गरेका थिए।
योग शिविरका लागि गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहेका डा. खड्काले मानवीय भावनासहित आग्रह स्वीकार गरेपछि आइतबार साँझ शल्यक्रिया सम्पन्न गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले बताए।
शल्यक्रियामा डा. खड्कासँगै प्रतिष्ठानका डा. निर्मल थापा, डा. रमेश काफ्लेलगायतको टोली संलग्न रहेको जनाइएको छ।
निःशुल्क रूपमा शल्यक्रिया सम्पन्न हुँदा बिरामीका परिवारलाई ठूलो आर्थिक राहत मिल्नुका साथै समयको पनि बचत भएको छ। सफल उपचारपछि बिरामीका आफन्तले चिकित्सक टोलीप्रति विशेष आभार व्यक्त गरेका छन्।
यसैबीच, प्रतिष्ठानमा पछिल्लो समय चिकित्सा विषयको स्नातक तहको पठनपाठनसमेत सुरु भइसकेको छ। प्रतिष्ठानलाई शिक्षा र उपचार दुवै क्षेत्रमा उत्कृष्ट बनाउने लक्ष्यसहित काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिएका छन्।




तपाईको प्रतिक्रिया दिनुहोस