Techie IT
२०८३ जेष्ठ १३, बुधबार

एचआईभी संक्रमण घट्दो, तर बागमती अझै जोखिममा


नेपालमा एचआईभी संक्रमण दरमा क्रमिक सुधार देखिएको छ । संक्रमितप्रति समाजको दृष्टिकोण पनि विस्तारै सकारात्मक बन्दै गएको छ भने नयाँ संक्रमणको संख्या उल्लेखनीय रूपमा घटेको छ ।

नेपाल सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्यसहित ‘राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६’ कार्यान्वयन गरिरहेको भए पनि बागमती प्रदेशमा भने जोखिम अझै कायम रहेको देखिएको छ । संक्रमितहरूले एचआईभीलाई सामान्य रूपमा लिन थाले पनि केही समूह र क्षेत्र अझै उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेश, हेटौँडाका अनुसार नेपालमा हाल करिब ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान छ । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ भने औसतमा दैनिक १.७ जनामा संक्रमण देखिने गरेको छ ।

सन् २००० मा नयाँ संक्रमणको संख्या ५ हजार ५४५ पुगेको थियो । उक्त संख्या सन् २०२४ मा घटेर ६१४ मा झरेको छ, जसलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौँडाकी जनस्वास्थ्य प्रशासक सञ्जु राईका अनुसार बागमती प्रदेशमा संक्रमण दर अघिल्ला वर्षको तुलनामा घट्दो क्रममा रहे पनि परीक्षणको पहुँच विस्तार, संक्रमितलाई निरन्तर उपचारमा राख्ने तथा दुर्गम क्षेत्रमा सेवा पु¥याउने चुनौती अझै बाँकी छ ।

उनले कुनै समय समाजमा डर, भ्रम र सामाजिक बहिष्कारसँग जोडिएको एचआईभी अहिले विस्तारै सामान्य रोगका रूपमा स्वीकार हुन थालेको बताइन् । आधुनिक उपचार पद्धति, जनचेतनाको वृद्धि र नियमित औषधि सेवनका कारण संक्रमित व्यक्तिहरू सामान्य जीवन बिताउन सक्षम बन्दै गएको उनको भनाइ छ ।

“समयमै परीक्षण गरी उपचार सुरु गरेमा एचआईभी संक्रमित व्यक्तिले अन्य मानिससरह सामान्य जीवन बिताउन सक्छन्,” राईले भनिन् । उनका अनुसार धेरै संक्रमित अहिले रोजगारी, पारिवारिक जिम्मेवारी र सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी छन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ८८३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या आर्थिक वर्ष २०८०/०८१ मा घटेर २०८ मा झरेको छ । हालसम्म प्रदेशभर ८ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ७ हजार १०४ जना उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनाको भाइरल लोड नियन्त्रणमा आएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा आमाबाट बच्चामा संक्रमण रोकथाम (पीएमटीसीटी) सेवाअन्तर्गत बागमती प्रदेशमा १ लाख १९ हजार ६१७ जनाले परामर्श सेवा लिएका थिए । तीमध्ये ९४ हजार ९९२ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

एचआईभी परीक्षण तथा परामर्श (एचटीसी) सेवाअन्तर्गत पनि सोही अवधिमा १ लाख १९ हजारभन्दा बढीले परामर्श सेवा लिएका थिए । परीक्षण गरिएका ९४ हजार ९९२ जनामध्ये १३ जनामा मात्रै पोजेटिभ रिपोर्ट देखिएको थियो ।

संक्रमण दर घट्दै गए पनि सामाजिक व्यवहार, परीक्षणमा ढिलाइ, उपचारप्रतिको लापरबाही तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावले एचआईभी नियन्त्रण अभियानमा चुनौती थपिएको राईले बताइन् ।

हाल बागमती प्रदेशभर १८ वटा एआरटी सेवा केन्द्र, ६ वटा ओएसटी सेवा केन्द्र तथा काठमाडौँ र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् ।

एचआईभी संक्रमण न्यूनीकरणका लागि काम गरिरहेको एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले संक्रमितलाई आर्थिक र सामाजिक रूपमा सहयोग आवश्यक रहेको बताए ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई आधुनिक उपचार र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले एएचएफमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ सम्म ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने योजना रहेको छ । तर हाल बागमती प्रदेशमा ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत नियमित उपचारमा आबद्ध छन् भने उपचारमा रहेका ८५ प्रतिशतको शरीरमा संक्रमण नियन्त्रणमा आएको छ ।

जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा बढी ४ हजार २०५ जना एआरटी सेवामा आबद्ध छन् भने चितवनमा १ हजार २२३ जना रहेका छन् । रसुवा र रामेछापमा भने एआरटी सेवामा रहेका संक्रमितको संख्या शून्य देखिएको छ ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सुईमार्फत लागूपदार्थ प्रयोग गर्ने व्यक्ति, महिला तथा पुरुष यौनकर्मी, तेस्रो लिंगी समुदाय र वैदेशिक रोजगारीमा जाने पुरुष श्रमिकहरू रहेका छन् ।

एआरटी सेवा लिनेहरूमध्ये ६६ प्रतिशत घरायसी काम गर्ने महिला, बालबालिका तथा अन्य पहिचान नखुलेका समूह रहेका छन् भने १५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू छन् ।

भौगोलिक रूपमा तराईका राजमार्ग आसपासका जिल्ला, काठमाडौँ उपत्यका, पोखरा तथा सुदूरपश्चिमका पहाडी जिल्लालाई एचआईभीको ‘एपिडेमिक जोन’ का रूपमा वर्गीकरण गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाले प्रदेशमा एचआईभी नियन्त्रणका लागि संस्थागत पूर्वाधार तयार गरिएको बताए । उनका अनुसार हाल १३ जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह भइरहेको छ ।

प्रदेशमा १८ वटा एआरटी केन्द्र, काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा ६ वटा ओएसटी साइट, १६ वटा प्रारम्भिक शिशु निदान सङ्कलन केन्द्र तथा काठमाडौँ र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् ।

डा. झाले संक्रमितहरू एआरटी उपचारमा भर्ना हुनुअघि नै सम्पर्कविहीन हुने दर बढ्दै गएको बताए । परीक्षण किटको नियमित आपूर्ति अभाव, संक्रमित महिला तथा बालबालिकाका लागि पर्याप्त स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको कमी पनि मुख्य चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे ।

उनका अनुसार आगामी दिनमा भाइरल लोड परीक्षण सेवाको विस्तार, आमाबाट बच्चामा हुने संक्रमण पूर्ण अन्त्य, सरकारी लगानी वृद्धि तथा दक्ष जनशक्ति परिचालनमा जोड दिन आवश्यक छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट