Techie IT
२०८३ असार ११, बिहीबार

मेडिकल सिट बढाउने निर्णय फिर्ता नभए फेरि अनसन बस्ने डा.केसीको चेतावनी


File Photo

चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजहरूमा सिट संख्या बढाउने सरकारी तयारीप्रति कडा आपत्ति जनाउँदै निर्णय फिर्ता नलिए पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने र चिकित्सा क्षेत्रलाई थप व्यापारीकरण गर्ने सरकारको योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नीति अनुसन्धान प्रतिष्ठानमार्फत ल्याउन लागिएका यस्ता सुझावहरूले चिकित्सा शिक्षाको गुणस्तर खस्कने र आम नेपालीको स्वास्थ्यमा खेलबाड हुने उनको ठहर छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म विपरीत माफिया र राजनीतिक दलहरूको स्वार्थ पूरा गर्न वर्तमान सत्ता गठबन्धन लागिपरेको आरोप लगाउँदै उनले 'रास्वपा र बालेन सरकार' माथि कडा राजनीतिक प्रहार समेत गरेका छन्।

"के माफिया पोस्न र चिकित्सा क्षेत्रको व्यापारीकरण गर्नका लागि नै जनताले रास्वपा र बालेन सरकारलाई चुनेका हुन्?" भन्दै डा. केसीले प्रश्न गरेका छन् । 

विगतका लामा संघर्षहरूबाट स्थापित 'चिकित्सा शिक्षा आयोग' लाई राजनीतिक हस्तक्षेप र स्वार्थ समूहहरू (माफिया) ले अस्तित्वहीन बनाउन खोजेको भन्दै उनले आक्रोश व्यक्त गरे। चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसाधारणको समतामूलक पहुँचमा राख्नुपर्नेमा जोड दिँदै उनले सिट वृद्धि गर्ने लगायतका विवादास्पद नीति र निर्णयहरू तुरुन्त फिर्ता लिन माग गरेका छन्।

आफ्ना पुराना सम्झौताहरू कार्यान्वयन नभए र यो नयाँ निर्णय खारेज नगरिए तत्कालै सत्याग्रहसहितको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी डा. केसीले दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट