नेपाली समाजमा क्यानसरको भयाभव बढ्दै
नेपालमा क्यान्सरका बिरामीको संख्या विगत पाँच वर्षमा करिब दोब्बरले वृद्धि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग, सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाको पछिल्लो तथ्यांकले सरकारी सहुलियत लिएर उपचार गराउने क्यान्सर रोगीहरूको संख्या डरलाग्दो गरी बढिरहेको देखाएको हो ।
महाशाखाको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ जना क्यान्सरका बिरामीले सरकारी सहुलियत लिएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ ।
महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार विगत पाँच वर्षमा विपन्न नागरिक औषधि उपचार कोषबाट आर्थिक सहायता लिने बिरामीको ग्राफ लगातार उकालो लागिरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, आव २०७९/८० मा १६ हजार ६९६ र आव २०८०/८१ मा २२ हजार १५३ जनाले उपचार खर्च लिएका थिए ।
क्यान्सर रोगबारे समुदाय स्तरमा जनचेतनाको ठूलो कमी छ । निर्देशक निरौलाले भने, "समयमै परीक्षण नगर्ने र अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण पनि चुनौती थपिएको छ । यसबाट बच्न सरकार र नागरिक समाजको सहकार्यमा व्यापक जनचेतना जगाउनु आवश्यक छ ।"
पीडित नागरिकको आर्थिक भार कम गर्न संघीय सरकारको महाशाखाले विपन्न कोषमार्फत प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको औषधि उपचार सहायता उपलब्ध गराउँदै आएको छ । यसैगरी, विभिन्न प्रदेश सरकारहरूले पनि आफ्नो तर्फबाट थप एक लाख रुपैयाँसम्मको उपचार सहायता थप गर्ने व्यवस्था मिलाएका छन् । क्यान्सरको विशिष्टीकृत उपचारका लागि सरकारी तहबाटै भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा छन् ।
शरीरको कोष तथा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि (ट्युमर वा गिर्खा) नै क्यान्सर हो । नेपालमा लैंगिक आधारमा फरक-फरक प्रकारका क्यान्सर बढी देखिएका छन्:
पुरुषमा मुख्य गरी फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी पाइएको छ । महिलामा भने पाठेघरको मुखको क्यान्सर, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशय (ओभरी) को क्यान्सर प्रमुख छन् ।
समग्र रूपमा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र त्यसपछि महिलाको पाठेघरको मुखको क्यान्सरको प्रकोप उच्च रहेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार बानीव्यहोरा र खानपिनमा आएको परिवर्तन नै क्यान्सरको मुख्य कारण बनिरहेको छ । अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, पोलेका, बासी तथा सडेगलेका खानेकुराको प्रयोगले जोखिम बढाएको छ ।
"हामीले हाम्रो परम्परागत सन्तुलित खानपान (दाल, भात, तरकारी) लाई बेवास्ता गरेर फास्टफुड र जंकफुडतर्फ आकर्षित भइरहेका छौँ," डा. शाहीले स्पष्ट पार्दै भने- "शारीरिक व्यायाम नगर्ने र निष्क्रिय बस्ने बानीले गर्दा 'मोटोपन' क्यान्सर निम्त्याउने दोस्रो ठूलो कारक (रिस्क फ्याक्टर) बनेको छ । जीवनशैली, आराम र खानपान सुधार्न सके क्यान्सरको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।"
यसैबीच, महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले देशव्यापी रूपमा किशोरीहरूलाई 'ह्युमन पापिलोमा भाइरस' (एचपिभी) खोप निःशुल्क लगाउने अभियानलाई समेत प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस