Techie IT
२०८३ भाद्र ६, शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ घण्टाको शल्यक्रियाबाट दुर्घटनाका घाइतेको पुनर्जीवन


दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल (मुख र अनुहार) शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उच्चस्तरीय उपचार पाएर नयाँ जीवन पाउन थालेका छन्। यसको गतिलो उदाहरण बनेको छ, रोल्पाका २१ वर्षीय अमरकुमार झाँक्रीको सफल उपचार।

रोल्पाबाट वैदेशिक रोजगारीका लागि काठमाडौँ जाँदै गर्दा तिलाको गरगरेमा भएको बस दुर्घटनामा परी टाउकोमा रगत जमेको र अनुहार क्षतविक्षत भएको अवस्थामा झाँक्रीलाई अर्धचेत हालतमा प्रतिष्ठान ल्याइएको थियो।

प्रतिष्ठानका न्युरोसर्जन डा. उपमा शर्मा, मुख तथा अनुहार शल्य चिकित्सक डा. निरोज खनाल, नाक, कान तथा घाँटी विशेषज्ञ डा. सरोज आचार्य र दन्त रोग विशेषज्ञ डा. करिष्मा भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले उनको जीवनरक्षाका लागि दुई चरणमा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले पहिलो चरणमा ६ घण्टा लगाएर टाउकोको न्युरोसर्जरी गरी जमेको रगत सफलतापूर्वक निकालेको थियो भने, दोस्रो चरणमा ९ घण्टा लामो 'सर्भिकोफेसियल फ्ल्याप' (Cervicofacial Flap) प्रविधि प्रयोग गरी उनको क्षतविक्षत अनुहारको सफल पुनर्निर्माण गरेको हो।

यसअघि टाउकोमा गम्भीर चोट लागेका वा न्युरोसर्जरी आवश्यक पर्ने बिरामीहरूलाई काठमाडौँ वा बाहिरका अन्य सुगम सहरहरूमा रेफर गर्नुपर्ने बाध्यता थियो। तर, अब आफ्नै स्थानीय क्षेत्रमा यो सेवा उपलब्ध भएपछि राप्ती क्षेत्रका नागरिकले महँगो खर्च र सास्तीबाट ठूलो राहत महसुस गरेका छन्।

१५ घण्टा लामो दुई चरणको जटिल शल्यक्रियापश्चात झाँक्रीको ज्यान जोगिनुका साथै बिग्रिन लागेको अनुहारको स्वरूपसमेत सामान्य अवस्थामा फर्किएको छ। स्थानीयस्तरमै अत्याधुनिक न्युरो र म्याक्सिलोफेसियल सेवा पाएर पुनर्जीवन प्राप्त गरेपछि युवा अमरकुमारले आफ्नो ज्यान बचाइदिने सम्पूर्ण चिकित्सक टोलीप्रति विशेष आभार प्रकट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट