वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल बन्ने
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आधुनिक आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार एक कार्यक्रमका बीच उक्त आकासे पुलको शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले देशभरका नागरिक तथा सहरी क्षेत्रका विपन्न वर्गले सहज स्वास्थ्य सेवा लिने पहिलो गन्तव्य वीर अस्पताल भएको बताइन् । अस्पतालको नयाँ र पुरानो भवनको बीचमा महाबौद्धतर्फ जाने अत्यन्त व्यस्त मूल सडक रहेकाले बिरामी र चिकित्सकलाई आवतजावतमा ठूलो सास्ती हुँदै आएको उनको भनाइ थियो ।
“उपचारका क्रममा कतिपय अवस्थामा केही सेकेन्डले पनि बिरामीको ज्यान जोगिने गर्छ, तर बीचमा व्यस्त सडक भएकाले बिरामी ओसारपसारमा निकै कठिनाइ भइरहेको थियो,” डंगोलले भनिन्, “अस्पताल प्रशासनको समेत माग र बिरामीको यही समस्यालाई मध्यनजर गर्दै सहज सेवा प्रवाहका लागि आकासे पुल निर्माणको थालनी गरेका हौँ ।”
महानगरपालिकाका अनुसार कुल चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुल आगामी कात्तिक ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल अस्पतालको मेडिकल वार्डबाट शल्यक्रिया (सर्जिकल) वार्डमा बिरामी लैजान व्यस्त सडक पार गर्नुपर्ने जोखिमपूर्ण बाध्यता छ । लिफ्टसहितको आकासे पुल सञ्चालनमा आएपछि बिरामीलाई ह्वीलचेयर तथा स्ट्रेचरमै सुरक्षित र छिटोछरितो रूपमा एक भवनबाट अर्को भवनमा लैजान सहज हुने विश्वास लिइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस