Techie IT
२०८२ फागुन १८, सोमबार

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुग्ने


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्।

निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई सम्बन्धित केन्द्रमा अनिवार्य रूपमा पुग्न परिपत्र गरिसकेको छ। दुर्गम तथा विकट भेगका मतदान केन्द्रहरूमा केही दिनअघि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको छ। यातायात सुविधा पुगेका स्थानमा भने सोमबार अपराह्नसम्म केन्द्रमा पुगेर तयारी पूरा गर्न निर्देशन दिइएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुग्नुपर्नेछ। उनका अनुसार केन्द्रमा पुगेलगत्तै चारकिल्ला तोकिएको सूचना टाँस्ने, मतदान क्षेत्रको परिधि स्पष्ट गर्ने लगायतका प्रारम्भिक कार्य सोमबार नै सम्पन्न गर्नुपर्नेछ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझिरहेका छन्। निर्वाचन सम्पन्न नहुँदासम्म सुरक्षाकर्मी र कर्मचारीहरू सँगै रहने व्यवस्था गरिएको छ।

आयोगका अनुसार आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारी पुगिसकेको रिपोर्ट प्राप्त भएको थियो। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका सडक सुविधा नपुगेका करिब तीन सय केन्द्रमा प्राथमिकताका साथ कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ।

शहरी तथा तराई क्षेत्रका केन्द्रहरूमा भने ढिलोमा पनि सोमबार अपराह्नसम्म सबै टोली पुगिसक्ने जनाइएको छ।

मतदान अधिकृतको जिम्मामा रहने मतपत्रसहितका सामग्रीलाई नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको छ। आयोग र प्रहरी प्रधान कार्यालयले मतदान अधिकृत, कर्मचारी तथा सिलबन्दी मतपत्रको २४ सै घण्टा निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

मतदान केन्द्र निर्धारण कार्यविधिअनुसार प्रत्येक वडामा कम्तीमा एउटा मतदान केन्द्र रहने व्यवस्था छ। मतदाताको संख्या धेरै भएमा एउटै मतदान स्थलभित्र ‘क’, ‘ख’, ‘ग’ गरी छुट्टाछुट्टै केन्द्र तोकिनेछ। यद्यपि एउटै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नमिल्ने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतले सर्वपक्षीय बैठक बोलाउने, प्रचारप्रसार निषेधको सूचना जारी गर्ने, मतदानस्थल तयारी गर्ने तथा मतदान अवधिभर आवश्यक बैठक र मुचुल्का तयार गर्ने जिम्मेवारी वहन गर्नुपर्नेछ।

मतदान सम्पन्न भएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका मुचुल्का गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ। त्यसपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट