फागुपूर्णिमा राष्ट्रिय एकताको प्रतीक: गगन थापा
नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले रङहरूको उत्सव फागुपूर्णिमा (होली) ले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर गर्नुका साथै राष्ट्रिय एकताको सन्देश दिने उल्लेख गरेका छन्।
होलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम, सद्भाव र एकताको विशिष्ट पर्व भएको बताएका छन्।
उनका अनुसार नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराई–मधेस क्षेत्रमा फागुन १९ गते अत्यन्त उत्साहका साथ रङ लगाएर यो पर्व मनाइन्छ। विभिन्न भूगोल, जातजाति, भाषा, धर्म, कला, संस्कृति र परम्पराको विविधताले नै नेपालको सुन्दर र विशिष्ट पहिचान निर्माण गरेको उनले उल्लेख गरेका छन्।
सभापति थापाले विविध रङहरूजस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै हाम्रो बलियो पहिचान भएको बताएका छन्। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
यसपटक फागुपूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन पनि नजिकिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उत्सवका रूपमा निर्वाचनलाई सफल, शान्तिपूर्ण र मर्यादित बनाउन सबैलाई आ–आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।
वसन्त ऋतुको आगमनसँगै सद्भाव र मेलमिलापको सन्देश बोकेको फागुपूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस