Techie IT
२०८२ माघ १५, बिहीबार

लन्डनस्थित नेपाली दूतावासद्वारा कराँते स्टार एरिका गुरुङ सम्मानित


बेलायत भ्रमणमा रहेकी नेपाली कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ। बुधबार दिउँसो तमुधिं यूकेका पदाधिकारीसहित दूतावास पुगेकी ऐतिहासिक पदक विजेता एरिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले बधाईसहित स्वागत–सम्मान गरेका थिए ।

कार्यवाहक राजदूत दुवाडीले एरिकाले देशको नाम र प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उचो राखेको भन्दै प्रशंसा गरे। भविष्यमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै उनले प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङको योगदानलाई समेत उच्च मूल्याङ्कन गरेका थिए ।

दूतावासको सम्मान र आतिथ्यप्रति आभार व्यक्त गर्दै एरिकाले आफू विश्वकै नम्बर एक वरियतामा पुग्ने लक्ष्यसहित अघि बढिरहेको बताइन्। उनले नेपाली खेलाडी विदेश पलायन भइरहेको सन्दर्भ उल्लेख गर्दै आफू भने कहिल्यै देश नछोड्ने प्रतिबद्धता जनाइन्।

तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले दूतावासप्रति धन्यवाद व्यक्त गर्दै संस्थाले नेपाली खेलाडीको प्रोत्साहन र खेल विकासमा निरन्तर सहयोग गर्ने बताए। तमुधिं यूकेले यसअघि नै एरिकालाई ५१ हजार रुपैयाँसहित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ बाट सम्मान गरिसकेको छ।

उक्त कार्यक्रममा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, हार्लो कराँते च्याम्पियनसीपका स्वर्ण पदक विजेता प्रज्योशन श्रेष्ठ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो।

गत आइतबार विश्व कराँते महासंघ (डब्लुकेएफ) को आयोजनामा टर्कीको इस्तानबुलमा सम्पन्न कराँते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जितेर इतिहास रचेकी एरिका सोमबार टर्कीबाट सिधै लन्डन पुगेकी हुन्। उनी जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म बेलायतमा हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुँदैछिन्।

बेलायत बसाइका क्रममा खेलाडीहरूको आवास, तालिम तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी तमुधिं यूकेले लिएको छ।

डब्लुकेएफ वरियतामा १३औँ स्थानमा एरिका

नेपाली कराँतेमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै एरिका गुरुङ विश्व कराँते महासंघ (डब्लुकेएफ) को वरियतामा महिला ६८ केजीमाथि तौल समूहमा १३औँ स्थानमा पुग्न सफल भएकी छन्।

कराँते वान प्रिमियर लिगमा रजत पदक जितेपछि उनले अन्तर्राष्ट्रिय वरियतामा उल्लेखनीय फड्को मारेकी हुन्। पछिल्ला दुई वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी एरिकाले सन् २०२५ मा मोरक्कोको राबतमा भएको कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् भने यसपटक इस्तानबुलमा आफ्नो प्रदर्शन सुधार्दै रजत पदक हात पारिन्।

एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वकै शीर्ष वरियताका खेलाडीहरूलाई समेत पराजित गरिसकेकी छन्। उनले १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण, १९औँ एसियन गेम्स र २०औँ एसियन सिनियर कराँते च्याम्पियनसीपमा रजत, १६औँ एसिया–प्यासिफिक सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी छन्।

त्यस्तै, दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा चार स्वर्ण, थाइल्यान्ड ओपनमा दुई स्वर्ण, यूएसए ओपन, अस्ट्रेलियन ओपन र मलेसियामा भएको कराँते वान सिरिज ए मा समेत उनले स्वर्ण पदक जितिसकेकी छन्। उनी वर्ल्ड च्याम्पियनसीपका लागि पनि छनोट भइसकेकी छन्।

नेपालमा उनले २०८० र २०८१ सालमा महिलातर्फ ‘बेस्ट प्लेयर अफ द इयर’ उपाधिसमेत प्राप्त गरिसकेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट