Techie IT
२०८२ भाद्र १०, मंगलबार

कता भागे गुन्डा नाइके दीपक मनाङे ?

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएलगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन्।


गुण्डा नाइकेको पहिचान बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे जेल सजायको फैसलापछि फरार भएका छन्। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाए लगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन्।

सर्वोच्च अदालतले अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोजेको पुरानो मुद्दामा मनाङेलाई दोषी ठहर गरेको हो। फैसलापछि प्रहरीले उनलाई खोजी गरिरहेको छ, तर हालसम्म फेला परेका छैनन्। प्रहरीले मनाङेलाई फरार सूचीमा राखेर खोजीलाई तिव्रता दिएको छ।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका प्रवक्ता बाबुराम गौतमले मनाङेसँग सम्पर्क गर्ने प्रयास जारी रहेको बताएका छन्। फरक–फरक सिमकार्ड प्रयोग गर्ने भएकाले सम्पर्कमा समस्या आएको गौतमको भनाइ छ।

सर्वोच्चको यो फैसलासँगै मनाङेको सांसद पद निलम्बनमा पर्ने निश्चित भएको छ। निर्वाचनसम्बन्धी ऐनअनुसार फौजदारी कसुरमा सजाय पाएका व्यक्तिहरू उम्मेदवार हुन अयोग्य ठहरिन्छन्। 

ऐनको दफा १३ अनुसार, पाँच वर्ष वा सो भन्दा बढी कैद भुक्तान गरेका व्यक्तिहरू सजाय समाप्त भएको छ वर्ष नपुगेसम्म निर्वाचनमा उम्मेदवार हुन सक्दैनन्। यसले गर्दा मनाङेको प्रदेशसभा सदस्य पद पनि निलम्बनमा पर्ने देखिन्छ। अदालतको फैसलाको पूर्णपाठ पछि प्रदेश सभा सभामुखले पद निलम्बन प्रक्रिया अगाडि बढाउने व्यवस्था छ।

मनाङे २०७४ मा पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। त्यतिबेला झूठा विवरण दिएर उम्मेदवारी दिएका उनी मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७९ को निर्वाचनमा पुनः निर्वाचित भए। त्रिशंकु संसद्को फाइदा उठाउँदै दुवै कार्यकालमा उनले मन्त्री पद समेत सम्हालेका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट