हेटौँडालाई आत्मनिर्भर औद्योगिक शहर बनाउने उपमहानगरको योजना

बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका महत्वाकाङ्क्षी योजना अघि सारेको छ।
उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालन, काठमाडौं–हेटौँडा रोपवे पुनर्जीवन, पाँच वर्षे शिक्षा रणनीति तथा तेस्रो सन्तान प्रोत्साहन नीतिलाई प्राथमिकतामा राखिएको बताइन्।
तीन वर्षअघि निर्वाचित भएकी लामाले आधा कार्यकाल सक्दा संघीय कानुनी अवरोध, बढ्दो बसाइँसराइ र स्रोतको सीमितता मुख्य चुनौती रहेको स्वीकार गरिन्। तर, उनले हेटौँडालाई राजधानी मात्र नभई आत्मनिर्भर औद्योगिक शहर बनाउने प्रतिबद्धता दोहोर्याइन्।
बन्द भएको हेटौँडा कपडा उद्योग पुनर्जीवनका लागि संघीय उद्योग मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिँदै उनले हजारौँ रोजगारी सृजना गर्न सक्ने यो उद्योग पुनः सञ्चालनका लागि कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरिन्।
त्यस्तै, नेपालको पहिलो रोपवेका रूपमा चिनिने काठमाडौं–हेटौँडा रोपवेलाई आधुनिक प्रविधि प्रयोग गरेर पुनः सञ्चालन गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको उनले बताइन्।
उपमहानगरले पाँच वर्षे शिक्षा रणनीति लागू गर्दै ‘मेगा विद्यालय’ अवधारणा ल्याएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षक, यातायात सुविधा र प्रविधिमैत्री शिक्षालाई यस योजनाका आधारस्तम्भका रूपमा अघि सारेकी छन्।
चार राष्ट्रिय राजमार्ग जोडिएको शहर हेटौँडामा बसाइँसराइ तीव्र रूपमा बढिरहेको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र आवासमा बढ्दो दबाब सामना गर्न उपमहानगरले संघीय र प्रदेश सरकारसँग साझेदारीमा काम गरिरहेको उनले बताइन्।
उनका अनुसार, तीन वर्षमा स्थानीय राजस्वबाट कृषि प्रवर्द्धन, किसानलाई मलदेखि पुँजीसम्म सहयोग, ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनको निर्यात वृद्धि, साथै आठ हजार घरपरिवारलाई निःशुल्क खानेपानी वितरण जस्ता उपलब्धि हासिल भएका छन्।
प्रमुख मिना कुमारी लामासँग गरिएको १० प्रश्नोत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस