काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्वमा गिरावट

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्म आन्तरिक राजस्व सङ्कलनमा अघिल्लो वर्षको तुलनामा कमी आएको जनाएको छ।
महानगरपालिकाको राजस्व विभागका अनुसार, आन्तरिक राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १.११ प्रतिशत घटेर १ अर्ब ६१ करोड ६१ लाख ४० हजार ६ सय २४ रुपैयाँ ६१ पैसा भएको छ। यसको अर्थ गत आवको तुलनामा करिब १ करोड ८१ लाख ५० हजार रुपैयाँ राजस्व घटेको हो।
विशेषत: सम्पत्ति करमा १३.७९ प्रतिशत, पर्यटन शुल्कमा ३.४४ प्रतिशत, नक्सापास दस्तुरमा ३४.७८ प्रतिशत र धरौटीमा शतप्रतिशतले गिरावट आएको छ। नक्सापास दस्तुरमा अघिल्लो वर्ष १० करोड ४३ लाख ९७ हजार ७७ रुपैयाँ ७९ पैसा सङ्कलन भएकोमा, यस वर्ष ६ करोड ५५ लाख १ हजार ३ सय ७७ रुपैयाँ ७७ पैसामा झरेको छ।
तर केही शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ। घरबहाल करमा ८.९३ प्रतिशत वृद्धि भई ८५ करोड ५ लाख ३६ हजार ४ सय ४ रुपैयाँ ९० पैसा सङ्कलन भएको छ। शिक्षा क्षेत्रको आम्दानीमा अघिल्लो वर्षको तुलनामा ३३६.९५ प्रतिशतको विशाल वृद्धि देखिएको छ, जुन १ करोड ६० लाख ५ हजार १ सय ९ रुपैयाँ ९१ पैसा पुगेको छ।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा पनि ५१.०८ प्रतिशत वृद्धि भई १ करोड ४ लाख ३३ हजार ८ सय ६८ रुपैयाँ ४० पैसा सङ्कलन भएको छ।
बाँडफाँडबाट प्राप्त राजस्वमा सामान्य १.७४ प्रतिशत वृद्धि भई कुल ३६ करोड ५३ लाख १६ हजार ३ सय ११ रुपैयाँ ७५ पैसा पुगेको छ। यसमा घरजग्गा रजिष्ट्रेशन दस्तुर ०.६० प्रतिशत र सवारी साधन कर १४.७१ प्रतिशतले बढेको छ।
अनुदानतर्फ समग्रमा ४.९४ प्रतिशत वृद्धि भई कुल ७१ करोड ८४ लाख ७ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा पुगेको छ। नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान र शर्त अनुदान (चालु तथा पूँजीगत) मा क्रमशः ५.११ प्रतिशत, १०.०८ प्रतिशत र ४३.०९ प्रतिशतको वृद्धि भएको छ। तर, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तथा सशर्त अनुदान (चालु र पूँजीगत) भने प्राप्त भएको देखिँदैन।
यस वर्ष ‘अन्य व्यक्तिगत आन्तरिक अनुदान’ शीर्षकमा नयाँ २ करोड ४८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ ७१ पैसा आम्दानी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस