जयबागेश्वरीका ७५ घर मल्ल–राणाकालीन स्वरुपमा फर्काइँदै
काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ वटा घरलाई मौलिक तथा परम्परागत स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।
कामपा–८ अन्तर्गत पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरी ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँको सम्झौता भई काम अघि बढाइएको हो। यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको करिब २९० मिटर सडक खण्ड दायाँ–बायाँ रहेका घरहरूको सडकतर्फको मोहडालाई मल्लकालीन वा राणाकालीन वास्तुशैलीमा रुपान्तरण गरिनेछ।
कामपाको सम्पदा तथा पर्यटन समितिका संयोजक तथा वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतका अनुसार, स्वामित्व व्यक्ति वा संस्थाको भए पनि काठमाडौं उपत्यकाभित्र इतिहासको निश्चित कालखण्डमा विकास भएका मल्लकालदेखि राणाकालसम्मका वास्तुशैलीलाई परम्परागत मानिन्छ र यही शैलीअनुसार घरहरूको बाहिरी स्वरुप परिवर्तन गरिनेछ।
उनले भने, “मल्लकालीन शैलीअनुसार घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छाना राखिनेछ। गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुनेछन्। एकमुखे, तीनमुखे र पाँचमुखे गरी कुँदिएका बुँट्टेदार परम्परागत झ्यालहरू राखिनेछन्।”
यस क्षेत्रमा सडकसँग जोडिएका करिब २५० घरमध्ये सडक वा खुला स्थानबाट देखिने घरको अगाडिको भाग मात्रै रुपान्तरण गरिने जानकारी पनि उनले दिए।
उक्त सडक खण्डमा सेतोढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, परम्परागत इनार, बच्छलेश्वरी डबली, गम्ती महादेव मन्दिर, कुमारी द्यः दुद्ध स्तुप, नवदुर्गा डबली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका दर्जनौँ मूर्त सम्पदा अवस्थित छन्।
लिच्छवीकालीन इतिहास बोकेको यस क्षेत्रको मौलिकता जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ। यही क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) पुनःनिर्माणको कामसमेत अघि बढाइरहेको छ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत भवनहरूको मौलिक स्वरुप जोगाउन यस्ता कार्यक्रमहरू कार्यान्वयनमा ल्याउँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस