Techie IT
२०८२ श्रावण २९, बिहीबार

सामाजिक अराजकता बिरुद्ध दृढता पूर्वक उभिने एमाले लुम्बिनीको निर्णय


दाङको लमहीमा बुधबार सम्पन्न नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ।

बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा राजनीतिक स्थायित्व कायम गर्ने, राजतन्त्र पुनःस्थापनाको प्रयास विफल पार्ने, अघिल्ला कार्यकालका प्राथमिकताप्राप्त आयोजनाको निरन्तरता दिने, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन गर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने, शिक्षा र भूमिसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने तथा भ्रष्टाचारविरुद्ध दृढ अडान लिनेजस्ता उल्लेखनीय काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ।

लुम्बिनी प्रदेश सरकारले राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयको काम अघि बढाएको उल्लेख गर्दै बैठकले रुपन्देही–बुटवल क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजनाबद्ध कार्यक्रम बनाउन जोड दिएको छ।

बैठकले लुम्बिनीलाई अर्गानिक प्रदेशका रूपमा रूपान्तरण गर्ने, कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, औद्योगिक तथा व्यावसायिक क्षेत्र विकास गर्ने, मोतिपुर, नौवस्ता र नेपालगञ्जमा औद्योगिक क्षेत्र स्थापना गर्ने तथा साना र घरेलु उद्योग प्रवर्द्धन गर्ने आवश्यकता औंल्याएको छ। किसानका लागि समयमै मल, बिउ र आधुनिक उपकरण आपूर्ति सुनिश्चित गर्न, दुग्ध तथा उखु किसानका बक्यौता भुक्तानी गर्न र खाद्य सुरक्षा प्रत्याभूत गर्न सबै तहका सरकारलाई आह्वान गरिएको छ।

अविरल वर्षाबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई राहत, भत्किएका संरचना पुनर्निर्माण, बाढी–पहिरोबाट सुरक्षित बसोबास र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। साथै, बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात सहज बनाउन आग्रह गरिएको छ।

बैठकले बाँझो जमिन उत्पादनमा ल्याउने, बन्यजन्तुबाट हुने कृषि क्षति रोकथाम गर्ने र बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने क्षतिपूर्ति दिलाउन माग गरेको छ। साथै, रुस–युक्रेन युद्ध तथा इजरायल–हमास द्वन्द्वले पारेको असरबारे चिन्ता व्यक्त गर्दै शान्ति र न्यायका लागि पहल गर्न आग्रह गरिएको छ। भाद्रमा हुने प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा पनि बैठकले व्यक्त गरेको छ।

बैठक पार्टी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं लुम्बिनी इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट