Techie IT
२०८२ श्रावण ११, आइतबार

मधेस प्रदेशमा बदलिँदो अपराधको स्वरूप : लागुऔषध, आत्महत्या र विपदका घटनामा वृद्धि


मधेस प्रदेशमा परम्परागत अपराधहरू घट्दै गएका छन् । बदलिँदो स्वरूपमा विकसित भइरहेका अपराधहरूको दर भने बढिरहेको पाइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको ताजा समीक्षामा प्रदेशको शान्ति–सुरक्षा अवस्था सामान्य देखिए पनि लागुऔषध कारोबार, आत्महत्या र सामाजिक अपराधहरूमा चिन्ताजनक वृद्धि देखिएको छ ।

२०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा आठ जिल्लामा कुल १२ हजार ५६५ मुद्दा दर्ता भएका छन् । तीमध्ये ४५८ मुद्दा लागुऔषधसँग सम्बन्धित छन्, जुन कुल मुद्दाको झण्डै ४ प्रतिशत हो । प्रदेश प्रहरीका अनुसार पछिल्लो वर्ष मात्रै २५ हजार किलोभन्दा बढी गाँजा, ४०८ किलो चरेस, ३ किलो ब्राउन सुगर, ४६ किलो अफिम र करिब ३ लाख ५० हजार थान लागुऔषध ट्याब्लेट, इन्जेक्सन र बोतल बरामद गरिएको छ। बरामद लागुऔषधको बजार मूल्य २२ करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीको दाबी छ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदीले भने, “समस्या गहिरिँदो छ, हामी नियन्त्रण प्रयास गरिरहेका छौं। तर प्रहरीको प्रयास मात्र पर्याप्त छैन।”

लागुऔषध कारोबार जत्तिकै गम्भीर समस्या आत्महत्या पनि बनिरहेको छ । गत आर्थिक वर्षमा मधेस प्रदेशमा ७२८ जनाले आत्महत्या गरेका छन्, जसमा पुरुषको संख्या बढी छ । घरेलु हिंसा, बेरोजगारी, प्रेम सम्बन्धमा विफलता, मानसिक तनाव र वैदेशिक रोजगारको असफलता प्रमुख कारणका रूपमा देखिएका छन् ।

गत वर्ष कर्तव्य ज्यानसम्बन्धी ९८ मुद्दा दर्ता भएका छन्, जसमा ८१ मुद्दाको अनुसन्धान सम्पन्न भइसकेको छ । प्रहरीले ५ हजार ८११ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ भने १६ वटा साना र १९ वटा ठूला हतियार बरामद गरिएको छ।

प्रदेशमा सडक सुरक्षाको अवस्था पनि कमजोर देखिएको छ। २८९ वटा सडक दुर्घटनामा ३२१ जनाको मृत्यु भएको छ। “सवारी नियमको उल्लंघन, कमजोर चेकिङ र अन्धाधुन्ध सवारी प्रयोग दुर्घटनाको मुख्य कारण हो,” डिआइजी चतुर्वेदी भन्छन्। ट्राफिक नियम उल्लंघनबाट १८ करोड ३७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

तराई क्षेत्रमा सवारी दुर्घटनासँगै अन्य अप्रत्याशित विपदहरूमा पनि जनधनको क्षति भइरहेको छ । प्रहरीका अनुसार पोखरीमा डुबेर २१५ जना, करेन्ट लागेर १३८ जना र आगलागीबाट १९ जनाको मृत्यु भएको छ । माछापोखरी जथाभावी खन्ने र सुरक्षा नअपनाउने कारण बालबालिकाले ज्यान गुमाउने क्रम बढ्दो छ ।

प्रदेशमा यदाकदा साम्प्रदायिक र राजनीतिक तनावहरू देखिए पनि सतर्कताका कारण ती घटनाहरू न्यूनीकरण भएका छन् । तर डिआइजी चतुर्वेदीका अनुसार यस्तो अवस्था जुनसुकै बेला पुनः भड्किन सक्ने खतरा कायमै छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट