Techie IT
२०८२ भाद्र ३०, सोमबार

म्याग्दीको प्राकृतिक चिकित्सालयमा अर्गानिक खाना र असला माछाका परिकार


File photo

गलेश्वर (म्याग्दी), २८ असोज,

दसैँको बिदामा नयाँनयाँ ठाउँ घुमघाम गर्ने, मनोरञ्जन लिने र नयाँनयाँ परिकारको स्वाद चाख्ने सबैको चाहना हुन्छ । यदि तपाईंलाई पनि यस्तो चाहना छ भने प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी उपयुक्त हुनसक्छ ।     
    
बेनी नगरपालिका–४ मा पर्ने तातोपानी सदरमुकाम बेनी बजारदेखि नौ किलोमिटर पश्चिममा पर्दछ । बेनी बजारबाट सवारीसाधनमार्फत उहाँ पुग्न २० मिनेट जति लाग्छ । तातोपानी कुण्डमा डुबेर थकान मेटाउने, प्राकृतिक विधिद्वारा उपचार सेवा पाइने र मनोरञ्जन प्राप्त हुनेमात्रै होइन म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछाका परिकारसमेत खान पाइने भएकाले पछिल्लो समय माछा पारखीका लागि यो स्थान थप आकर्षणको केन्द्र बन्न थालेको छ ।     
    
जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा विरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रही आएको छ । साथै स्थानीय माछा र अर्गानिक खाना तातोपानीको प्रमुख विशेषता बन्दै गएको छ ।         
बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि माछा धेरैको रोजाइमा पर्छ । यहाँ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीका रुपमा समेत माछा लिएर फर्कने गरेका छन् । अन्यत्र पाइने माछाभन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछा अन्यत्र भन्दा सस्तो मूल्यमा बिक्री हुने गरेको छ। 

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताउनुभयो । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ । ”, उहाँले भन्नुभयो ।     
    
घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीका रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि पछिल्लो समय माछाको मूल्य पनि बढेको छ । पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ । तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीहरुको भनाइ छ ।    
विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताउनुभयो । तातोपानीको उपल्लो र तल्लो बजारक्षेत्रमा सञ्चालनमा रहेका होटलमा स्वास्थ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको होटल व्यवसायीहरुले बताएका छन् ।

      
फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल व्यवसायी एवं तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट