मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि अस्पताल भर्ना
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वास सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको छ। उहाँका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिँदै महाथिरलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको बताए। अस्पतालले उहाँलाई ‘लोअर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन’ अर्थात् तल्लो श्वासप्रश्वासको संक्रमण भएको पुष्टि गरेको छ।
९८ वर्षीय महाथिरलाई यसअघि पनि लगातार खोकी लागेको कारण जुलाई महिनामा अस्पतालमा भर्ना गरिएको थियो। उहाँका स्वास्थ्य सहयोगी सुफी युसोफका अनुसार अहिलेको उपचारले केही दिन समय लाग्ने अपेक्षा गरिएको छ। सन् १९८१ देखि सन् २००३ सम्म २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका महाथिर मलेसियाको राष्ट्रिय नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँले दोस्रो पटक सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो।
हालका वर्षहरूमा उहाँको स्वास्थ्यमा निरन्तर समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि उहाँको बाइपास सर्जरी समेत गरिएको थियो। यसै वर्षको सुरुमा पनि उहाँले तीन महिना अस्पतालमा बिताउनुभएको थियो। लामो समयदेखि देशको नेतृत्व सम्हाल्दै आइरहनु भएका महाथिरको स्वास्थ्यस्थिति मलेसिया मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय बनिरहेको छ।
महाथिरको यसपटकको स्वास्थ्य समस्याले उहाँका समर्थकहरूलाई चिन्तित बनाएको छ भने मलेसियामा उहाँको योगदानको सम्मान गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस