Techie IT
२०८२ भाद्र २९, आइतबार

काभ्रेको नमूना तामाङ बस्ती बजेट अभावले दुई वर्षदेखि निर्माण अलपत्र


कभ्रेको  मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना तामाङ एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि अलपत्र परेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा २०७४ सालमा सुरु गरिएको यो बस्ती निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने योजना भए पनि ‘कोरोना–प्रभाव’ र बजेट अभावका कारण ढिलासुस्ती भएको हो।

नमूना बस्तीको योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको थियो। तर, अहिलेसम्म ६ वटा घर निर्माणाधीन अवस्थामा छन्, र बनेका घरहरूको ‘फिनिसिङ’ कार्यसमेत बाँकी छ। बजेटको अभावले दुई वर्षदेखि निर्माण कार्य रोकिएको हो। प्राधिकरणको म्याद सकिएपछि बस्ती निर्माणको काम अनिश्चितकाल सम्म रोकिएको छ।

बस्ती निर्माण समितिले नगर कार्यालयले रु ४० लाख सहयोग दिने वाचा गरे पनि अघिल्लो आर्थिक वर्ष देखि नै रकम निकासा नभएको बताएको छ। नगर प्रमुख टोकबहादुर वाइबाले नगरले दिएको रु १० लाखको सहयोगबाट जस्तापाता लगायतका निर्माण सामग्री खरिद गरिएको जानकारी दिए । तर, नगर कार्यालयले अघिल्लो चरणमा दिइएको पेश्की रकमको फछ्र्याेट नभएसम्म बाँकी रकम निकासा नहुने बताउँदै आएका छन् ।

स्थानीय जनश्रमदान र ऋण लिएर निर्माणलाई निरन्तरता दिइएको थियो। निर्माण समितिका अध्यक्ष आइतमान तामाङका अनुसार प्राधिकरणले समयमा रकम निकासा नगर्दा समितिले स्थानीयस्तरमै पटकपटक ऋण लिएर काम अघि बढाएको हो। अहिलेसम्म रु ५४ लाखको ऋण लिइ सकिएको छ। प्राधिकरणबाट दुई करोड ८० लाख रकम निकासा भए पनि बस्ती निर्माणका लागि आवश्यक संरचना बनाउन त्यो रकम पर्याप्त हुन सकेन ।

होम–स्टे योजना र पर्यटन प्रवर्द्धनको उद्देश्य
सरकारको योजना अनुसार तामाङ संस्कृति मार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको थियो। प्रत्येक घरमा तीन कोठे एकतले संरचना बनाउने योजना थियो, जसमा जनश्रमदान र १३ लाख लागत लाग्ने अनुमान गरिएको थियो। बस्ती निर्माण कार्य योजना अनुसार अनिवार्य रूपमा होम–स्टेका लागि एउटा कोठा छुट्ट्याउने सम्झौता भएको थियो।


बस्तीमा रु ४० लाखको लागतमा सामुदायिक भवन निर्माण गरिएको छ। यो भवनमा विवाह, व्रतबन्ध, तामाङ संस्कृतिका विविध कार्यक्रमहरू सञ्चालन गर्न सकिने योजना छ। यसका साथै, तामाङहरूको पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री, जस्तै जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रो, देवीदेवता आदि पनि यहाँ संग्रहित गरिनेछ।

छ घरको एक ब्लक बनाएर ३० वटा घर निर्माण गर्ने योजना बीचमै रोकिँदा स्थानीय बासिन्दा चिन्तित र निराश भएका छन्। स्थानीय पञ्चकुमारी तामाङका अनुसार सबै गाउँले मिलेर जनश्रमदान गरेका थिए, तर पैसा अभावका कारण काम दुई वर्षदेखि ठप्प छ। स्थानीयले ऋण र श्रम लगानी गरेर सुरु गरेको यो परियोजना बीचमै रोकिनु, प्राधिकरण र नगरपालिकाबाट समयमा सहयोग नपाइनुका कारण हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट