लेवान्डोस्कीको २ मिनेटको धमाका: बार्सिलोनाको रियलमाथि ४-० को ऐतिहासिक जित
शनिबार राति भएको स्पेनिस ला लिगाको चर्चित "एल क्लासिको" खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
यो खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २ मिनेटको अन्तरालमा २ गोल गर्दै खेलको रफ्तार नै बदलिदिएका थिए, जसले बार्सिलोनालाई रियलको घरेलु मैदानमै सानदार जित दिलायो।
खेलको पहिलो हाफमा दुवै टोलीले रक्षात्मक शैली अपनाउँदै गोलरहित बराबरी खेले। दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोलपोस्टको दिशा ठीक पार्न नसक्दा स्कोर लाइन ०-० को स्थितिमा थियो। दोस्रो हाफको सुरुआतमा भने बार्सिलोनाले खेलको गति परिवर्तन गर्दै आक्रमणलाई तीव्र बनायो।
५४औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गर्दै खेलको खाता खोलेका थिए । लेवान्डोस्कीको यस गोलले टोलीमा उत्साह थप्यो, र खेलको दोश्रो मिनेटमै उनले अर्को गोल थप्दै टोलीलाई २-० को अग्रता दिलाए। लेवान्डोस्कीको यी २ गोलले रियल मड्रिडलाई गहिरो दबाबमा पुर्यायो।
७७औं मिनेटमा बार्सिलोनाका लामिने यामलले तेस्रो गोल थप्दै बार्साको जित सुनिश्चित गरे। ८४औं मिनेटमा राफिन्हाले चौथो गोल गर्दै बार्सिलोनालाई ४-० को उत्कृष्ट जित दिलाए।
बार्सिलोनाका यी सटीक गोलहरुले रियल मड्रिडलाई कुनै जवाफी अवसर नदिई खेलमा पूर्ण नियन्त्रण जमाए।
यो जितसँगै बार्सिलोनाले ११ खेलमा ३० अंकको उपलब्धि गर्दै शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ। समान ११ खेलबाट २४ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा धकेलिएको छ।
बार्सिलोनाको यस जितले ला लिगा शीर्षकको दौडमा ठूलो महत्व राख्छ, र यसले रियल मड्रिडमाथि ६ अंकको अग्रता पनि प्रदान गरेको छ। बार्सिलोनाका प्रशिक्षक, खेलाडी तथा समर्थकहरूका लागि यो एक ऐतिहासिक जित रह्यो।



तपाईको प्रतिक्रिया दिनुहोस