इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्र

सप्तरीको विष्णुपुर गाउँपालिकास्थित मलेकपुरको सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर ठेकेदारको लापरवाहीका कारण अलपत्र परेका छन्।
भारतको उत्तरप्रदेश, सम्भल जिल्लाबाट ठेकेदार मो. जाकिर मियाँले मजदुरलाई कामका लागि ल्याएका थिए, तर ठेकेदार सम्पर्कविहीन भएपछि मजदुरहरु समस्यामा परेका छन्।
राजविराज नगरपालिका–३ को कल्टुपोखरी नजिकै निर्माणाधीन घरमा शरण लिइरहेका मजदुरहरुले आवश्यक सुविधाको अभाव र भोकभोकै बस्नुपरेको बताएका छन्।
मजदुर बोहरा सिंहका अनुसार, घर फर्किन पनि उनीहरूसँग पैसा छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ बालबालिका र १५ महिलासहित ४४ मजदुरलाई उद्धार गरी सदरमुकाम राजविराज ल्याएको छ। इँटा व्यवसायीहरुले हाल उनीहरुलाई खाना उपलब्ध गराइरहेका छन्।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले फरार ठेकेदारको खोजी कार्य जारी रहेको र मजदुरहरुलाई भारत पठाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस