Techie IT
२०८३ जेष्ठ ९, शनिबार

पृथ्वी माविले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड कब्जा


केपिलासगढी गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले लगातार तेस्रो पटक उपाधि जितेर शिल्ड कब्जा गरेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौँ संशोधन २०८० अनुसार लगातार तीन पटक विजयी हुने विद्यालयले शिल्ड सधैंका लागि राख्न पाउने व्यवस्था छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पृथ्वी माविले सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत र २५ कास्य पदक हात पारेर उपाधि आफ्नो नाम गरेको हो।

प्रतियोगितामा आठ स्वर्ण, तीन रजत र एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो स्थानमा रहेको छ भने तीन स्वर्ण, छ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो स्थानमा रहेको छ।

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ५० हजार, ४५ हजार र ४० हजार नगद पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राईलगायतले विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ।

प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले नवौँ जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र बराहपोखरी गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट