तरकारी खेती गरेरै छोरा डाक्टर छोरीलाई इन्जिनियर पढाएरहेकी उर्मिला
कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरकी उर्मिला डगौराले ३० वर्षअघि एक कट्ठा जग्गामा सानो स्तरमा तरकारी खेती सुरु गरिन्। तर आज, उनी तरकारी खेतीबाटै जीवनयात्रा र छोरा छोरीको उच्च शिक्षा खर्च जुटाउँदै परिवारलाई आर्थिक सम्पन्नतामा पुऱ्याएकी छिन्। उर्मिलाले छोरा रविनलाई चण्डीगढमा सफ्टवेयर इन्जिनियरिङ पढाइरहेकी छिन् भने छोरी रविनालाई चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गराउँदैछिन्।
उनले २०५२ सालमा सुरु गरेको तरकारीखेतीबाट प्राप्त आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा किनेकी थिइन्। त्यस्तै, मेहनत र लगनशीलता सँगै उनले अहिले १५ कट्ठा जग्गामा तरकारी खेती गर्दै सन्तोष जनक आम्दानी गरिरहेकी छिन्। उनका श्रीमान् रामबहादुरको पनि खेतीमा ठूलो योगदान रहेको छ, साथै उनले लालपुर बजारमा किराना पसल सञ्चालन गर्दै आफ्नै उत्पादन गरिएको तरकारीहरू बिक्री गर्दै आएका छन्।
उर्मिलाले छोरीलाई डाक्टर पढाउन अहिलेसम्म ६० लाख रुपैयाँ खर्च भएको बताउँछिन्, जुन सबै तरकारी खेतीबाटै धानेको उल्लेख गर्छिन्। सिजनमा लहरे तरकारीबाट मात्र दुई लाख रुपैयाँसम्म बचत हुने गरेको छ।
तरकारी खेतीको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै महिलाहरूको समूह गठन गरेर प्राविधिक सहयोग गरेको थियो, जसले खेतीमा नयाँ ज्ञान र प्रविधि भित्र्याउन मद्दत पुऱ्यायो। उर्मिलाले सहकारीको सहयोगले उत्पादनमा वृद्धि भएको अनुभव सुनाइन्।
उक्त समूहमा १६ महिला आबद्ध छन्, र उनीहरूलाई सहकारीले निरन्तर प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ। सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दका अनुसार, सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म पुऱ्याउन शाखा विस्तार गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस