प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्दे, अधिवेशन अन्त्यको सिफारिस हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। नयाँ बानेश्वर स्थित संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न अमेरिका भ्रमणको कार्यसूचीबारे सदनलाई जानकारी गराउने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओली असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। महासभाको मुख्य नारा "कसैलाई पनि पछाडि नछोड्ने: वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने" रहेको छ। महासभामा सम्बोधन गरेपछि, प्रधानमन्त्री ओलीले अमेरिकामा हुने अन्य कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
सदनमा सम्भावित अवरोध
संसद्मा भने अवरोधको स्थिति कायमै छ। नेकपा (एमाले)का सांसद योगेश भट्टराईले भदौ १२ गतेको संसद् बैठकमा जनयुद्धलाई 'हिंसा' को संज्ञा दिएपछि माओवादी केन्द्रले असहमति जनाएको थियो। सभामुख देवराज घिमिरेले भट्टराईको भनाइलाई असंसदीय नभएको भन्दै रूलिङ गरेपछि माओवादी केन्द्रले संसद् अवरोध गरिरहेको छ। सोमबार माओवादी केन्द्रको संसदीय दलको बैठकले अवरोध कायम राख्ने निर्णय गरेकाले प्रधानमन्त्रीको सम्बोधन कसरी अघि बढ्ने अनिश्चित छ।
सहकारी छानबिन प्रतिवेदन पेश हुने
आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची समेत रहेको छ।
अधिवेशन अन्त्यको सिफारिस
यसैबीच, संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्यको सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने जानकारी दिएका छन्। संवैधानिक प्रावधान अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट गरिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस