जीबी राईलाई मलेसिया पठाउन सहकारी र अध्यागमन विभागको साठगाँठ
सहकारी बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर फरार भएका गितेन्द्रबाबु (जीबी) राईलाई मलेसिया पठाउन सहकारी विभाग र अध्यागमन विभागले अनुमति दिएको तथ्य सार्वजनिक भएको छ। ०८० असार २४ गते वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीमा बचतकर्तासँग रकम फिर्ताको लिखित बाचा गरेका राई चार दिनपछि मलेसिया उडेका थिए र त्यहीदेखि उनी नेपाल फर्किएका छैनन्।
सहकारी विभागले ०८० असार २८ गते राईको विदेश यात्रा रोक्का गरिएको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्र लेखेको थियो, जबकि ८ दिनअघि मात्र विभागले उनलाई विदेश जान रोक्का गर्न पत्र पठाएको थियो। यसले सहकारी विभाग र जीबी राईबीच मिलेमतो भएको आशंका उत्पन्न भएको छ।
मलेसियामा रहेका राईलाई नेपाल फर्काउन सहकारी विशेष समितिले गृह मन्त्रालयलाई निर्देशन दिए पनि सरकार उनलाई पक्राउ गर्न असफल रहेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मलेसियामा प्रहरी पठाए पनि जीबीलाई फेला पार्न नसकेको बताएका छन्।
राईले सातवटा सहकारीमार्फत ८ अर्ब रुपैयाँभन्दा बढीको अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ। यी सहकारीहरूको प्रमुख संचालकको भूमिकामा राई नै रहेको र उनका निर्णयहरू सर्वमान्य हुने गरेको प्रतिवेदनमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस