मुस्ताङबाट १०३ च्यांग्रा चोरीमा संलग्न व्यक्ति पक्राउ

मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा ५० वर्षीय मोहम्मद फकिरलाई प्रहरीले पक्राउ गरेको छ। फकिर रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-७ मासवारमा बस्दै आएका थिए।
असोज १ गते मुस्ताङको वारागुरुङ मुक्तिक्षेत्र गाउँपालिका-३ बस्ने ताक्ला गुरुङको घरगोठमा पुगेका फकिरसहित ३ जनाले च्यांग्राहरू ४२ लाखमा खरिद गर्ने भनेका थिए। उनीहरूले पैसा नल्याएको भन्दै पोखरामा गएर दिने वचन दिएर गुरुङलाई पनि पोखरा लगे। तर, पोखराको होटलमा सुतेको अवस्थामा उनीहरूले च्यांग्राहरू लिएर सम्पर्कविहीन भएका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माका अनुसार फकिरलाई पोखरा महानगरपालिका-४ बाट पक्राउ गरिएको हो। उनलाई ठगी, आपराधिक विश्वासघात, र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतले ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। फकिरले च्यांग्राहरू असोज २ गते पोखराको घट्टेखोलाबाट अन्य सवारी साधनमा लोड गरी बिक्री वितरण गरेको वयान दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस