ओलीको अहंकारले नेकपा विघटन भयो - डा. भीम रावल
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री डा. भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार मुख्य कारण भएको आरोप लगाएका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै रावलले ओलीको नाम नउच्चारणै नगरी उनको स्वेच्छाचारी प्रवृत्तिप्रति कडा आक्रोश व्यक्त गरे।
‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समिति यही हलमा बसेको थियो,’ रावलले भने, ‘एक जनाको अहंकार, सत्ता स्वार्थ र विदेशी शक्तिसँगको नजिकताले दुई तिहाइको सरकार ध्वस्त पार्यो। प्रधानमन्त्रीले एक अँध्यारो कोठामा विदेशी गुप्तचरसँग भेटेपछि दुई दिनमै प्रतिनिधिसभा विघटन गरियो। सर्वोच्च अदालतले संविधानविपरीत भन्यो, तर त्यसपछि पनि दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नुभयो।’
रावलले ओलीकै कारण कम्युनिस्ट आन्दोलनमा ठुलो धोका पुगेको दाबी गरेका छन् । ‘ओलीले नै नेकपा नामको “जम्बु जेट” लाई पोखराको सेतीको खोँचमा पुर्याए,’ उनले भने, ‘क्याप्टेन (ओली) ले जहाज खसाल्दै गर्दा सह–पाइलट (प्रचण्ड) आँसु झार्दै पछुताइरहेका थिए। हामी पछाडिका यात्रुहरू चिच्याउँदै, रुँदै क्याप्टेनलाई रोक्न खोज्यौँ, तर उनले सुन्नु भएन।’
उनले प्रधानमन्त्री कार्यालयमै बसेर एकल निर्णयमा ९ सय सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने ओलीको शैलीमाथि पनि प्रहार गरे। ‘माधव, झलनाथ, वामदेव र मजस्ता नेतालाई समेत नबोलाई एक्लै ९ सय जनाको केन्द्रीय समिति बनाउनु भयो,’ रावलले व्यङ्ग्य गर्दै भने, ‘वाह, कम्युनिस्ट पार्टीका नेता।’



तपाईको प्रतिक्रिया दिनुहोस