Techie IT
२०८३ श्रावण १०, आइतबार

नागढुंगा सुरुङमार्गबाट ओलीको शिलान्यास शिलालेख हटाएको भन्दै एमालेको आपत्ति


नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख हटाइएको भन्दै नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले घोर आपत्ति जनाएको छ। नगर कमिटी अध्यक्ष उत्तमबहादुर राउतद्वारा जारी ‘इतिहास नमेटाऊ’ शीर्षकको विज्ञप्तिमा नियतवश शिलालेख हटाइएको दाबी गर्दै त्यसको भर्त्सना गरिएको छ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको यो आयोजनाले नेपाललाई आधुनिक सुरुङ युगमा प्रवेश गराएको उल्लेख गर्दै एमालेले वर्तमान सरकार इतिहास मेटाउने खेलमा लागेको गम्भीर आरोप लगाएको छ। सुरुङमार्गले राजधानी आवतजावतलाई सहज बनाउने र यातायात क्षेत्रमा अग्रगामी छलाङ मार्ने भए पनि पूर्वाधार निर्माण सुरु गर्ने नेतृत्वको योगदान बिर्सिनु स्वीकार्य नहुने चेतावनी एमालेले दिएको छ।

साथै, विज्ञप्तिमा सुरुङमार्ग निर्माणका क्रममा प्रभावित स्थानीय बासिन्दाका समस्याप्रति पनि ध्यानाकर्षण गराइएको छ। प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्थापन, चर्किएका घरहरूको उचित क्षतिपूर्ति र स्थानीयलाई रोजगारी दिने दायित्वबाट सरकार पन्छिन खोजेको नगर कमिटीको ठहर छ।

यता, सडक विभागका अधिकारीहरूले भने सुरुङ खन्ने क्रममा बबरमहल सारिएको उक्त शिलालेख आगजनीका क्रममा जलेर नष्ट भएको र हाल त्यसको खोजतलास भइरहेको दाबी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट