पार्टीले इतिहासकै ठूलो पराजय भोगेको भन्दै महासचिव पोखरेलले गरे आत्मालोचना
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्तरिक कमजोरी स्वीकार गर्दै पार्टीमा अब वैचारिक पुनर्गठन र शुद्धीकरण अपरिहार्य भएको बताएका छन्। लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी जीवनकै सबैभन्दा ठूलो पराजय भोग्नुपरेको भन्दै नेता-कार्यकर्तामाझ खुलेर आत्मालोचना गरेका हुन्।
“हाम्रै कमजोरीका कारण यो अवस्था आएको हो। अलिकति सूचना आएकै थिए, तर बेलैमा सल्टाउन सकिएन” पोखरेलले भने, “पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय भोग्नुपर्दा कार्यकर्तामा चरम निराशा छ। आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न अब हिचकिचाउनु पर्दैन।”
आफ्नो लक्षित वर्ग नै पार्टीबाट टाढिएको स्वीकार गर्दै उनले एमाले बलियो बनाउने आधार भत्किएको टिप्पणी गरेका छन् । “हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ, उनीहरू हामीसँग रहेनन्। भूमिहीन, श्रमजीवी, विद्यार्थी, किसान र शिक्षक कसैले पनि हामीलाई विश्वास गरेनन्। उत्पीडित वर्गको नेतृत्व युट्युबरहरूले गरे,” उनले थपे।
पोखरेलले एमाले जनतामुखी नभई सत्तामुखी बनेकाले समस्या उत्पन्न भएको बताए। हामी सरकारका माध्यमबाट बलियो हुन खोज्यौँ तर वर्ग सङ्घर्ष बिर्सियौँ। जनताबीच जानेभन्दा पनि सीडीओ र हाकिम खोज्दै हिँड्यौँ, यसले गर्दा कार्यशैली उल्टो भएको उनले स्पष्ट पारे।
सहरिया युवा, नवयुवा र विदेशिएका नेपालीहरू पार्टीबाट टाढिएको र युवाकेन्द्रित कार्यक्रमहरू प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे। साथै, प्रदेशमा नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन बाध्यताको परिणाम भएको दाबी गर्दै पोखरेलले कांग्रेसको आन्तरिक असहमतिका कारण कांग्रेससँगको सहकार्य हुन नसकेको स्पष्टीकरण दिएका थिए ।
सरकारबारे टिप्पणी गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको जग 'लोकप्रियतावाद र अराजकतावाद' मा टिकेको आरोप लगाउँदै सो सन्देश जनस्तरसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।



तपाईको प्रतिक्रिया दिनुहोस