नागढुङ्गा सुरुङमार्ग निर्माणमा आफूले बजेट छुट्याएर जग बसालेको पूर्वप्रधानमन्त्री खनालको दाबी
नागढुङ्गा–सिस्नेखोला सुरुङ्गमार्ग औपचारिक रूपमा सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले खुसी व्यक्त गर्दै आफ्नो सपना साकार भएको बताएका छन्। हाल चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री खनालले एक प्रेस नोट जारी गर्दै आफू प्रधानमन्त्री पदमा बहाली हुँदा पहिलो निर्णयका रूपमा यही सुरुङ्गमार्ग निर्माणको फाइलमा हस्ताक्षर गरेको स्मरण गराएका हुन्।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको समाचारले मलाई अत्यन्त खुसी र गौरवान्वित बनाएको छ । खनालद्वारा जारी प्रेस नोटमा भनिएको छ, “२०६८ सालमा मेरो नेतृत्वमा सरकार गठन हुँदा पहिलो कार्यभारका रूपमा सुरुङमार्ग निर्माणको नीतिगत निर्णय गरिएको थियो र आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत पहिलोपटक बजेट विनियोजन गरिएको थियो।”
काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनले वर्षौंदेखि भोग्दै आएको अत्यधिक ट्राफिक जाम र सास्तीलाई दीर्घकालीन समाधान दिन आफूले निरन्तर सोच र पहल गरेको उनले उल्लेख गरेका छन्।
आफ्नो दीर्घकालीन सोच र राष्ट्रिय आवश्यकताले आज मूर्त रूप लिएको बताउँदै उनले भनेका छन्, “मैले देखेको सपना साकार भएको अनुभूति भएको छ। यस ऐतिहासिक आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने विभिन्न समयका सरकारहरू, प्राविधिक, निर्माणकर्मी, कर्मचारी, जापान सरकार तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
पूर्वप्रधानमन्त्री खनालले यो सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ अध्यायको सुरुवात गर्दै सुरक्षित, सहज र आधुनिक यातायात प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस