प्रदेश सभा सदस्य देउवा पदमुक्त
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। लगातार १० वटाभन्दा बढी प्रदेश सभा बैठकमा बिनासूचना अनुपस्थित रहेको भन्दै सभामुख भीमबहादुर भण्डारीले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
प्रदेश सभा सचिवालयका अनुसार कैलाली क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित देउवा गत वर्ष भदौ महिनामा भएको घटनाक्रम र आन्दोलनलगत्तै अमेरिकातर्फ गएका थिए। त्यसयता उनी बिनाजानकारी लामो समयसम्म सभाका बैठकहरूमा अनुपस्थित रहँदै आएका थिए। उनी गत वर्षको साउन १५ गतेपछि प्रदेश सभाका लगातार २७ वटा बैठकमा उपस्थित भएका थिएनन्।
संविधानको धारा १८० को खण्ड (घ) तथा प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार सभालाई कुनै पनि सूचना नदिई लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहने सदस्यको पद स्वतः रिक्त हुने प्रावधान रहेको छ। सोही कानुनी व्यवस्थालाई टेकेर सभामुख भण्डारीले सचिवालयले तयार पारेको टिप्पणी आदेश स्वीकृत गर्दै देउवालाई पदमुक्त गर्ने निर्णय लिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस